Monday, November 24, 2008

हाम्रो दुर्दशा

भालेले विहानको संकेत दिनसाथ नयाँ जोस र जाँगर बटुलेर आफ्नो ओच्छ्यानबाट उट्छु एउटा नयाँ संकल्प र योजनाहरुको साथ नयाँ नेपालको निमार्ण गर्न।

बितेका पलहरुका दु:खद घटनाहरुको स्मरण गर्दै भोलीको दिनमा यी यस्ता दु:खद स्मरणहरु नघटोस भन्दै कामना गर्दै आफ्नो सयनकक्षमा पल्टेको हुन्छु। म सानो छँदा मेरो यो अबोध मनले देखेको सपनाहरु सपनामा नै सिमित हुने डरले निन्द्रा परेको हुँदैन। दिन भरी देशको प्रत्त्येक ठाउँमा घटेका घटनाहरुबाट तर्सिरहेको हुन्छु। चारैतिर अशान्ति, हत्या, हिंसा मात्र ब्याता छ। देशको प्रत्येक ठाउँहरुमा दानविय मानवहरुको जुलुस मात्र निस्किएको छ। देश एउटा मरभुमीमा परिणत भएको छ। १० बर्षे द्वन्दको समाप्त्तिले मेरो यो मनमा उमंगको उर्जा पलाएको थियो। देशपर्तिको कर्तब्य पालना गर्ने जोस जागेको थियो। विकासको नयाँ स्रोत, साधनहरुको प्रयोग गर्ने सपना साँचेको थिएँ। फेरि पनि सुन्दर, शान्त, विकसित नेपालमा रम्न पाउने आषामा थिएं। आँफुले जानेको शिप र परिश्रम प्रयोग गरेर ढुङ्गालाई हिरामा परिणत गर्ने सोच बनाएको थिएँ। विदेशीनुको पिडालाई सदाको लागि अन्त्य भई सबै युवा, देशवासी मिलेर देशका भत्त्किएको धरोहरहरुको पुर्न-निर्माण हुने विश्वासमा थिएं। पेरि पनि गौतम बुद्ध मुस्कुराएको हेर्न चाहेको थिएँ। अशिक्षा र गरिवीले थिचेको हामी नेपालीहरुले शिक्षित र सम्पन्न नयाँ नेपालको कल्पना गर्दै बसेका थियौं।
तर दुरभाग्य हामी नेपालीहरु एक आपसका दुस्मन हुन् पुग्यौं। हामीलाई देशको भन्दा बढी हाम्रो आफ्नै नेपाली बाँचेकोमा चिन्ता छ। विश्वको सानो देश, शान्तिको प्रतिक मानिएको देश सदाको लागि विलाउन लागेको छ, यसबारेमा हामी कसैलाई पनि चिन्ता भएको छैन, छ त बस आफु र आफ्नो राजनैतिक दलको।
हामीले देशलाई रणभुमी बनायौं। प्रत्येक पलहरुमा मानवअधिकार उल्ङ्घन गरिरहेका हुन्छौं। हामी बिग्रियौं र देशलाई पनि बिगार्यौं र हुर्कंदै गरेका ती साना भबिस्यहरुलाई रणभुमीका शक्तिशाली खेलाडि बनाउँदै गएका छौं। आखिर किन त? यी हाम्रा सबै यस्ता कृयाकलापहरुले फाइदा कसलाई भएको छ? केही छैन......... यस देशमा कसैलाई पनि असल नागरिक बन्नु छैन भने आफ्नो र आफ्नो आमन्ने सामन्नेका सबैको अस्तित्त्व मेटाए हुन्छ। यस देशलाई सोमालिया, हाइटी जस्तै बनाए हुन्छ। हामी युद्धमा नै रमाउन चाहन्छौ भने विद्यार्थीले किताब, कपी किन्नुको सट्टा खुकुरी, बन्दुक किने हुन्छ। दण्डहिनताको स्थिति बढाए हुन्छ। सरकार पनि अझै दर्शक बनेर ताली बजाए हुन्छ। कस्लाई कसको मतलब छ र? ‘न जनतालई सरकारको न सरकारलाई जनताको न जनतालाई देशको!’
दङ्ग परिरहेको हुन्छु म देशको यस्तो अवस्थाले गर्दा। मेरा सम्पूर्ण सपना, इच्छा, आषा, विश्वासहरु टुट्न लागेको छ। म जस्तै हजारौको भविस्यमा पूर्णविराम लाग्न लागेको छ। गर्न पनि के सक्छु र, एक जनालाई सम्झाएर सक्दिन, किनकि आजभोली यहाँका मानवहरुसंग कुराकानी गर्दा आफ्नो अस्तित्त्व नै संकटमा प्रर्ने डर छ। मनभरि उब्जीएका यी तरंगहरुले धेरै प्रश्न गरिरेको हुन्छ, यी प्रश्नहरुका उत्तर खोज्छु तर उत्तहरुनै विलिन भएको पाउँछु। मन तनावमा हुन्छ, तनावबाट मुक्त हुनको लागि निदाउने प्रयास गर्छु तर निन्द्राले साथ छोड्न थालेको जस्तो लाग्छ...................................!